वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा भूमिहीन किसानलाई बर्छौ देखी खनजोत गर्दै आएको जमिनको नाप नक्सा गरी लालपुर्जा उपलब्ध गराउने काम भूमि आयोगले सुरु गरेको छ ।
पहिलो चरणमा साबिकको निर्मलबस्ती गाविस–६ का भूमिहीन र अव्यवस्थित बसोबास गरिरहेका हरूलाई यसै वर्षको दशैसम्म लालपुर्जा वितरण गर्ने गरी सोमवारदेखि जग्गाको नापनक्शाको काम सुरु गरिएको हो ।
गाउँपालिकाको सभा हलमा आयोजित एक समारोहका बिच भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले डिजिटल मेसिनको बटन खोलेर नाप नक्सा गर्ने कार्यको शुभारम्भ गर्नुभयो ।
बाहाँले यस अघि १७ वटा आयोग बन्दा पनि समाधान नभएको ठोरीवासीको समस्या आफू नेतृत्वको १८औँ आयोगले जसरी पनि समाधान गर्ने दाबी गर्दै दसैँमा एक हातले रातो टीका र अर्को हातमा रातो लालपुर्जा थमाउने वाचा गर्छु भन्नुभयो ।
आफू दोस्रो पटक भूमि आयोगको अध्यक्ष बन्नु नै ठोरीको भूमिसम्बन्धी समस्या समाधान गर्नकै लागि भएको उहाँले बताउनुभयो । अध्यक्ष अहमदले सबै प्रक्रिया पूरा गर्दा लालपुर्जा वितरण गर्न कम्तीमा ११५ दिन लाग्ने भए पनि ३५ दिने सूचना निस्किसकेको हुनाले ठोरीमा छिटो काम हुने जानकारी गराउँदै लालपुर्जा वितरणमा पालिकाले ६५ प्रतिशतभन्दा धेरै काम गर्नुपर्ने भएकोले वर्तमान ठोरी गापा अध्यक्षको तदारूकताको कारण अब छिट्टै लालपुर्जा ठोरीवासीको हातमा पर्ने बताउनुभयो ।
कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले यसपालि जसरी पनि लालपुर्जा वितरण हुने बताउदै २०५७ सालको नापनक्शा गर्ने तत्कालीन कर्मचारी अहिले पनि फिल्डमा सँगै भएकाले लालपुर्जा वितरण र जग्गाको नाप नक्सामा समस्या नभएको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले अहिलेको अवस्था ठोरीवासीका लागि अत्यन्त अनुकूल भएकाले नापी टोलीलाई सहयोग गरी लालपुर्जा वितरण गर्ने यो महत्त्वपूर्ण अवसरमा सबैले सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भूमि आयोग पर्साका सदस्य शिवनारायण राम, सदस्य–सचिव दीपक सिंह, वडाध्यक्ष मानबहादुर थिङ, वडा सदस्यहरू, विभिन्न सङ्घसंस्थाका अगुवाहरू र स्थानीय वासीहरूको सहभागिता थियो ।
सो अवसरमा अत्याधुनिक टोटल स्टेशन मेसिनको प्रयोग गरेर विवाद रहित ढङ्गले जग्गाको नापनक्शा गरिने नापी कार्यालय पर्साका प्रमुख दीपक सिंहले बताउनुभयो ।
यस अघि गत साउन १२ गते भूमि समस्या समाधान आयोगको कार्यालय पुगेर ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले २६ जना भूमिहीन दलित, १४० जना भूमिहीन सुकुम्वासी र एक हजार ७४० जना अव्यवस्थित बसोबासीको नामावली आयोगलाई उपलब्ध गराउनुभएको थियो । ठोरी गाउँपालिकाले लालपुर्जा वितरण प्रक्रियालाई सहज र तीव्र बनाउन भूमि शाखाको स्थापना गरेको छ । जग्गाधनीले निस्सा वा नागरिकताको प्रमाणपत्र पेस गरेर आफूले हक भोग र खनजोत गरिरहेको जग्गाको जानकारी लिन सक्ने भूमि शाखाका हेम चापागाईँले जानकारी दिनुभयो ।
करिब साढे तीन दशकदेखि भूमिहीनहरूको हकमा राज्यले आयोग बनाउने तर पर्सा जिल्लामा लालपुर्जा भने वितरण गर्न सकेको छैन । अहिले पनि १८औँ आयोग जिल्लाका दुई पालिकामा नाप जाँच र जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरणको अभ्यासमा लागेको भए पनि जग्गा वितरण हुने कुरामा स्थानीय बासिन्दा विश्वस्त हुन सकेका छैनन् ।

