काठमाण्डौ । काठमाण्डौको माइतीघर मण्डलामा आमरण अनशन बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन अन्त्य गर्नुभएको छ । बाँस र अन्य स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रवद्र्धन र उपयोग गर्नुपर्नेलगायत माग राखी उहाँ गएको साउन १४ गतेदेखि अनशन बस्नुभएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा हिजो विभिन्न मागमा समझदारीपछि मेयर भट्टराईले अनशन अन्त्य गर्नुभयो । निमार्ण कार्यमा बाँसको प्रयोग गर्न सहरी विकास मन्त्रालयबाट बाँस भवनसंहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ ।
यस्तै ‘खोटाङलाई बाँसको राजधानी’ का रूपमा विकास गरी बाँस अध्ययन तथा प्रवद्र्धन क्षेत्रको रूपमा विकास गर्नेलगायत विषयमा सहमति भएको छ ।
यसैगरी बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने, सरोकार भएकाहरूमा प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकास गर्ने, यस्ता उत्पादनको प्रचारप्रसार, बजारीकरणमा सहयोगलगायत प्रोत्साहनसहितका कार्यक्रम तीनै तहका सरकारले संचालन गर्ने, गराउने विषय पनि समझदारी पत्रमा उल्लेख छ ।

