चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ स्थित केरुङ्गा खोलामा माछा मार्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा पूर्वी खड्कौलीका ५० वर्षीय भीमबहादुर दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ। प्रहरीका अनुसार दराई साउन १७ गते साँझ करिब ६ बजे गोरखबहादुर दराईसँगै माछा मार्न गएका थिए। तर, पछि भीमबहादुर दराई हराएका थिए।
साथी गोरखबहादुर दराईले उनलाई नदेखेपछि राति घरमा खोज्दा समेत नभेटिएको र त्यसपछि राति करिब १०:३० बजे इलाका प्रहरी कार्यालय गीतानगरलाई खबर गरिएको थियो।
खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक कृष्णराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीहरूले खोजी कार्य सुरु गरेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ। खोजी कार्य केरुङ्गा खोलामा जारी रहेको र घटना स्थल प्रहरी कार्यालयबाट करिब १० किलोमिटर दक्षिण–पश्चिममा रहेको जनाइएको छ।

