बैतडी । स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई अनमीले लगातार ७ घण्टासम्म मुखले कृत्रिम श्वास दिएर बचाउन सफल भएकी छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ, बैतडीको सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाएकी हुन् ।
गत बिहीबार स्वास्थ्य केन्द्रमा प्रसूति व्यथा लागेर आएकी सोही वडाकी २० वर्षीय लक्ष्मी धामीले राति ९ बजेर ३३ मिनेटमा निसासिएको अवस्थामा शिशु जन्माएकी थिइन् । शिशुले श्वास फेर्न नसकेपछि राति साढे ९ बजेदेखि बिहान ४ बजेसम्म कृत्रिम श्वास दिएर शिशुको ज्यान जोगाउन सफल भएको अनमी पुजाराले बताइन् । उनले भनिन्, “आधारभूत स्वास्थ्य केन्द्रमा कृत्रिम श्वास दिन एउटा एम्बुबेगबाहेक कुनै उपकरण थिएन ।
यो पनि नमिल्ने भएपछि मुखले नै शिशुलाई कृत्रिम श्वास दिएर बचाउन सफल भएँ । सुविधा भएको अस्पताल लैजान गाउँमा बाटोघाटो र यातायातको सुविधा छैन । स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण पनि छैनन् ।” अहिले नवजात शिशु र सुत्केरीको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य केन्द्रबाट घर फर्किएकी सुत्केरीलाई नियमित जाँच गर्न घरमै पुगेर सेवा दिइरहेको अनमी पुजाराले बताइन् । उनले आफूले गरेको कार्यले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले चौतर्फी प्रशंसा पाउँदा खुसी लागेको बताइन् ।

