काठमाण्डौ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले हिजोदेखि सत्याग्रह शुरु गर्नुभएको छ । बाँसजन्य सामग्रीको प्रवद्र्धनसहित सात बुँदे माग राख्दै उहाँले काठमाण्डौको माइतीघर मण्डलामा सत्याग्रह शुरु गर्नुभएको हो ।
बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवद्र्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणल गायतका सात बुँदे माग उहाँले राख्नुभएको छ । नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह शुरु गरेको मेयर भट्टराईले बताउनुभयो । सत्याग्रहले माग पूरा नभएमा यही पर्सि साउन १४ गतेदेखि आमरण अनसन बस्ने तयारी उहाँको छ ।
मेयर भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाण्डौ आउनुभएको हो । भट्टराईले सत्याग्रह घोषणा गर्नुभएपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ ।

