चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा रहेको लक्जरी पाँचतारे रिसोर्ट ‘रोयल ट्युलिप चितवन’ले नयाँ ‘अल-डे-डाइनिङ रेस्टुरेन्ट’ माझीघर को सफ्ट उद्घाटन (सौम्य शुभारम्भ) गरेको छ। लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित यस रिसोर्टको यो नयाँ पहलले चितवनको भोजन तथा आतिथ्य सत्कारको क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ।
‘माझीघर’ थारु र माझी समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित रहेको र यो स्थानले न्यानो र स्वागतपूर्ण वातावरण सिर्जना गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले बताउनुभयो। उहाँले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वाद मिसिएको परिकारको स्वाद लिन सकिने जानकारी दिनुभयो। “हामीले अहिले रेस्टुरेन्टको मात्र सफ्ट ओपनिङ गरेका छौं,” अध्यक्ष शाहले भन्नुभयो, “आगामी असोजमा रिसोर्टको भव्य उद्घाटनसहित सम्पूर्ण सेवा सञ्चालनमा ल्याइनेछ।” चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित ४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा विलासी कोठा र भिलाहरू छन्।
विशेषगरी स्पा, फिटनेस सेन्टर, पौडी पोखरी, र ‘माझीघर’, ‘फरेस्ट फ्लेम’, ‘माचान’ (घुम्ने डेक) र ‘तनावी स्पोर्ट्स बार’जस्ता भोजन तथा मनोरञ्जन सेवाले पाहुनालाई विशेष अनुभव प्रदान गर्नेछन्। रिसोर्टले प्रकृतिसँग नजिक रहन चाहने पर्यटकका लागि आकर्षक सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ। महाप्रबन्धक सचिन शर्माले रिसोर्ट दिगो पर्यटनमा आधारित रही सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय सामग्रीहरूको प्रयोगमार्फत १०० भन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी दिनेछौं।”
शर्माका अनुसार, रोयल ट्युलिप चितवनले नेपालको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण, र सौराहाका बासिन्दाको जीविकोपार्जनमा योगदान पुर्याउने लक्ष्य राखेको छ। विशेषगरी देश–विदेशका विशिष्ट पाहुनाहरूलाई लक्षित गरी व्यक्तिगत सेवामार्फत विलासी आरामको अनुभव प्रदान गर्न रिसोर्ट केन्द्रित रहेको जानकारी दिइएको छ।

