काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको माग राखेर जेठ १३ गतेदेखि संसद्मा अवरोध गर्दै आएका दुवै दलले आज पनि बैठकको शुरूमा आफ्ना कुरा राखेर बाहिरिएका हुन् ।
जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेला अवरोध नगरेका दुई वटै दलले त्यसयता अवरोधसहित बहिष्कार गर्दै आएका हुन् । दुई वटा दलको अवरोध र बहिष्कारकै बीच पनि सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गर्दै आउनुभएको छ ।
आजको बैठक शुरू हुनासाथ राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले रास्वपा सांसद डा. तोशिमा कार्कीलाई बोल्न दिनुभयो । कार्कीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताउनुभयो ।
त्यसपछि बोल्ने समय पाउनुभएका राप्रपाका सांसद दीपकबहादुर सिंहले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएसम्म विरोध कायमै रहने बताउनुभयो ।
त्यसपछि दुवै दलका सांसदहरू बैठकबाट बाहिरिए । अहिले प्रतिनिधिसभा बैठक चलिरहेकाे छ ।

