रुकुमपूर्व। रुकुमपूर्वमा च्याउ खाएर बिरामी परेका चारमध्ये थप एक जना बालिकाको मृत्यु भएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका चारमध्ये एक जना बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।
हिजो (मंगलबार) राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारत ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ तीन वर्षीय योजन विकको सल्यान अस्पतालमा मृत्यु भएको थियो ।
एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए । प्रहरीका अनुसार च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ । आमा ३५ वर्षीया राजकुमारी विकको अवस्था मध्यम रहेको छ । उनको रुकुमपश्चिमको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

