काठमाडौं । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अझै १४ वटा बाँकी छन् ।
१३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। यद्यपि विविध प्राविधिक कारणले तुइन विस्थापित हुन केही ढिलाइ भएको स्थानीय पूर्वाधार विकास विभाग (डोली) अन्तर्गतको झोलुङ्गे पुल शाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) स्मिता शर्माले बताइन् ।
उनले भनिन्, “१३२ वटा तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ । अहिले दार्चुलाको व्यास र लेकम गाउँपालिकास्थित महाकाली नदीमा १२ वटा तुइन छन् । त्यसै गरी कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन र महाकाली नदीमाथि पञ्चेश्वर घाटमा रहेको तुइन अहिलेसम्म विस्थापित हुन नसकेको हो ।” अहिले सरकारले कहीँ पनि तुइन निर्माणको काम नगरेको स्पष्ट पार्दै उनले स्थानीय तह र टोलछिमेक मिलेर पनि तुइन निर्माण गरी जोखिमयुक्त यात्रा गरेको बताइन् ।

