काठमाडौं । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले साउन महिनाका लागि निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुगेको हो ।
बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ ।
असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ ।
असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् ।


