काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको हो ।
नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको सङ्ख्या एक सय ८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको सङ्ख्या दुई सय १३ रहेको थियो । “घाँसे मैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ”, उहाँले भन्नुभयो, “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।”
उहाँका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन् । संरक्षण क्षेत्र बाहिर रहेका ती क्षेत्र नासिदै गएका छन् । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदानमात्र बाँकी छ । सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्”, उहाँले भन्नुभयोे ।

