चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रत्ननगर नगर समितिले रत्ननगर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमप्रति गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले कुनै पनि राजनीतिक दललाई निमन्त्रणा नगरी एकलौटी रूपमा कार्यक्रम गरेको भन्दै माओवादी केन्द्रले यसलाई कमजोरी, बेथिति र अनियमितता ढाकछोप गर्ने प्रपञ्चको रूपमा लिएको छ।
पार्टीका अध्यक्ष मेघनाथ पौडेल र सचिव मोहन प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा रत्ननगर नगरपालिकाको उक्त कदमलाई नगर प्रमुखको अलोकतान्त्रिक, निरंकुश, विभेदपूर्ण र गैरजिम्मेवार व्यवहारको पराकाष्ठा भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारले नीति, कार्यक्रम र बजेटमा सरोकार राख्ने राजनीतिक दलहरूसँग समन्वय र छलफल गर्नु कर्तव्य हो। तर, रत्ननगर नगरपालिकाले सबै राजनीतिक दललाई वेवास्ता गरी एकलौटी रूपमा कार्यक्रम गरेको छ, जुन लोकतान्त्रिक चरित्रसँग मेल खाँदैन।’
माओवादी केन्द्रले १० वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गणतान्त्रिक उपलब्धिको रक्षा गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै यस्ता अव्यवहारिक, निरंकुश र अपारदर्शी कार्यको घोर भर्त्सना गरेको छ। साथै, आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन नगरपालिकालाई चेतावनी दिएको छ।
विज्ञप्तिमा नगरपालिकालाई लोकतान्त्रिक मूल्य-मान्यता कायम राख्न, जनताप्रति जवाफदेही हुन र सबै सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्न आग्रह गरिएको छ।

