चितवन । चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायका महिलाको आयआर्जनको लागि बीउ पुँजी रकम उपलब्ध गराइएको छ । समूहमा आबद्ध भएर आयआर्जनको काम गरिरहेका महिलाहरुलाई बीउ पुँजी रकम उपलब्ध गराइएको हो ।
अन्डेफको सहयोगमा डेक नेपालले कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सञ्चालन गरेको चेपाङ महिला सशक्तिकरण परियोजनाअन्तर्गत कालिकाका ५ र इच्छाकामनाका ६ वटा समूहलाई रकम प्रदान गरिएको हो ।
बुधबार कालिका वडा नं ३ र वडा नं ८ का तीन वटा समूहलाई रकम प्रदान गरिएको डेक नेपालका निर्देशक जनक कार्कीले जानकारी दिए । वडा नं ३ को अगुवा चेपाङ महिला पैरवी मञ्च कृषक समूहलाई ५० हजार तथा वडा नं ८ को अगुवा चेपाङ महिला पैरवी मञ्च कृषि समूह र लगनशिल चेपाङ महिला बहुउद्देश्यीय कृषि समूहलाई २५/२५ हजार प्रदान गरिएको निर्देशक कार्कीले जानकारी दिए ।
समूहमा आवद्ध भएका महिलाहरुले मासिक बचत गरेर आयआर्जनका लागि ऋण लगानी गर्दै आएका छन् । मासिक ५० रुपैयाँदेखि २०० रुपैयाँसम्म बचत गरेका महिलाहरुले बीउ पुँजीको रुपमा पाएको पैसा समूहमै राख्ने र ऋण लगानीलाई अझ प्रभावकारी बनाउने बताएका छन् ।
‘अहिलेसम्म बढीमा ५ हजार रुपैयाँमात्र ऋण लगानी गरेका छौँ’, कृषक समूहकी अध्यक्ष सुष्मा चेपाङले भनिन्, ‘बीउ पुँजीको रुपमा ५० हजार पाएपछि अधिकतम १५ हजार रुपैयाँसम्म ऋण लगानी गर्ने छौँ ।’ उनले समूहबाट ऋण लिएका महिलाहरुले बाख्रापालन, तरकारी खेती र सिलाइकटाइको काम गरिरहेको बताइन् ।
डेक नेपालहरुले अन्य समूहलाई एक हप्ताभित्र रकम उपलब्ध गराउने जनाएको छ । कालिकाका ५ वटा समुहलाई ५० हजारका दरले २ लाख ५० हजार र इच्छाकामनाका ६ वटा समुहलाई ५० हजारका दरले ३ लाख रुपैया प्रदान गरिने निर्देशक कार्कीले जानकारी दिए ।