चितवन । चोरी गरेको स्कुटरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार बिहान करिब १०:५० बजे जिल्ला चितवनको भरतपुर महानगरपालिका–९ गोन्द्राङ चेकपोष्ट अगाडि चेकजाँचको क्रममा इलामको कमल गाउँपालिका–९ घर भएका २२ वर्षीय दिपेश तामाङलाई चोरी गरिएको स्कुटरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
तामाङले चितवनको रत्ननगरबाट बा.प्र.०३–००३प ६९२० नम्बरको स्कुटर चोरी गरी लैजाँदै गरेको सूचनाका आधारमा प्रहरीले उनलाई गोन्द्राङमा पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।
चोरी भएको स्कुटरका धनी रत्ननगर नगरपालिका–४, सितलचोक बसोबास गर्ने ४७ वर्षीय कृण्ण चौधरी रहेको प्रहरीले जनाएको छ।

