चितवन । चितवनको रत्ननगर नगरपालिका–८ चित्रसारीस्थित बुढी राप्ती खोलामा माछा मार्न गएका युवाको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।
बिहीबार राति ९ बजेको समयमा खोलामा माछा मार्न गएका २७ वर्षीय अबिशेक माझीलाई गोहीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
अबिशेकसँगै माछा मार्न गएका ४५ वर्षीय राजकुमार माझी भने सकुशल रहेको खनालले बताए ।
गोहीको आक्रमणमा परेका अबिशेकको शव गएराति १ः२० बजेको समयमा घटनास्थलबाट करिब २०० मिटर तल फेला परेको प्रहरीले बताएको छ ।

