काठमाडौ । कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि त्यसको अन्तर्राष्ट्रिय प्रभाव नेपालसम्म देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार जान तयारी अवस्थामा रहेका ५ सयभन्दा बढी नेपाली यात्रु उडान रद्द भएपछि बिचल्लीमा परेका छन्।
नेपाल एयरलायन्स र हिमालयन एयरलायन्समार्फत प्रभावित देशतर्फ उड्न तयारीमा रहेका यात्रुहरू सोमबार राति ११ बजे बोडिङ पास लिएर विमान चढ्न प्रतीक्षारत थिए। तर इरानको मिसाइल आक्रमणपछि सुरक्षा कारण देखाउँदै दुवै उडान अन्तिम समयमा रद्द गरिएपछि यात्रुहरू रातभर विमानस्थलमै बस्न बाध्य भए।
‘बोडिङ पास पाएपछि हामीलाई फ्लाइट नहुने जानकारी दिइयो। होटलमा बस्न वा खानाको व्यवस्था पनि हुन सकेन,’ एक यात्रुले भने।
कतार, जहाँ करिब ४ लाख नेपालीहरू रोजगारीका लागि रहेका छन् । हाल इरान-इजरायल तनावको प्रभाव कतारमा पनि परेको हो।

