चितवन। नेपाली क्रिकेट लिग (एनपीएल)को दोस्रो सिजनको तयारीमा जुटिरहेको चितवन राइनोजले रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक गरेको सूचीमा राइनोजले यो सिजनका लागि मार्की खेलाडीको रूपमा कुशल मल्ललाई नै निरन्तरता दिएको छ। रिटेन हुने अन्य खेलाडीमा ग्रेड ए मा रिजन ढकाल र कमलसिंह ऐरी छन् भने ग्रेड बी मा दीपक बोहरा र अमरसिंह रौटेला रहेका छन्। त्यस्तै ग्रेड सी मा गौतम केसी रहेका छन्।
दोस्रो सिजनका लागि टिममा स्थान नपाउने खेलाडीहरूको सूचीमा भने अनुभवी खेलाडी शरद भेषावकर, दीपेश श्रेष्ठ, बिपिन रावल, सन्तोष कार्की, रञ्जित कुमार र ट्यालेन्ट हन्टमार्फत आएका सलाउद्दिन खान रहेका छन्।
टिमले रिलीज गरिएका खेलाडीप्रति आभार व्यक्त गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरेको छ र भविष्यका लागि शुभकामना समेत व्यक्त गरेको छ।

