चितवन । नारायणी ई. पब्लिक स्कुलले नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवादल कार्यक्रमको तालिम २०८२ साल असार ९ गतेबाट औपचारिक रूपमा प्रारम्भ गरेको छ। यसअघि मिति २०८२ असार ६ गते भर्ना प्रक्रिया सम्पन्न गरिएको थियो।
तालिम उद्घाटन समारोह श्री नयाँ सबुज गण, भरतपुरका गणपती प्रमुख सेनानी दिनेस लामाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य श्री वेदराज न्यौपानेले गर्नुभएको थियो। भरतपुर महानगरपालिका–११ की वडा सदस्य ललमाया लामा विशेष अतिथि रहनुभएको कार्यक्रममा, +२ संयोजक जनकराज घिमिरे , सह सेनानी बिमल बस्ताकोटी र समाजसेवी निर्मल जीवन पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख सेनानी दिनेस लामाले उद्घाटन मन्तव्य दिँदै अनुशासन र राष्ट्रसेवाको महत्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अनुशासित विद्यार्थीहरूले नै राष्ट्रको उज्वल भविष्य निर्माण गर्छन्। त्यसैले तालिममा सहभागी प्रत्येक विद्यार्थीले अनुशासनलाई पहिलो प्राथमिकतामा राखी तालिम सम्पन्न गर्नुपर्छ।”
तालिमको सञ्चालन सम्बन्धमा विद्यालयका कार्यक्रम संयोजक नवीन बगालेले जानकारी दिँदै बताउनुभयो कि तालिममा १५ जना छात्रा र १५ जना छात्र गरी ३० जना सहभागी छन्। यो १०० दिन लामो तालिममध्ये ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिन कोल्ज क्याम्पमा सहभागितासहित सम्पन्न गरिनेछ।
विद्यालयका प्राचार्य वेदराज न्यौपानेले यो तालिममार्फत विद्यार्थीहरूमा राष्ट्रप्रेम, अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक सेवाको भावना बलियो रूपमा विकास हुने अपेक्षा व्यक्त गर्नुभयो।

