चितवन। चितवनको भरतपुर महानगरपालिका वडा नं १३ मा रहेको श्री हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयमा शुक्रबार २ सय ८२ जनाको निशुल्कःस्वास्थ्य परीक्षण(मुटुको परीक्षण) र स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं १३ को सहयोग एवम् समन्वय र दर्शन मिडियाको आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण एवम् स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो । चितवन मुटु अस्पताल प्रा.लिका अध्यक्ष एवम् वरिष्ठ मुुटु रोग विशेषज्ञ डा शंकर लौडारीको नेतृत्वको टोलीले सो विद्यालयका विद्यार्थी र शिक्षकहरुको मुटुको भिडियो एक्स—रे (इको कार्डियोग्राफी) गरिएको हो ।

सो अवसरमा विद्यार्थी र शिक्षकको सुगर र प्रेसरको समेत जॉच गरिएको थियो । परीक्षण गरिएकामध्ये १० जनाभन्दा वढीलाई मुटुको समस्या देखिएकोले थप परीक्षणका लागि चितवन मुटु अस्पतालमा समय दिईएको छ । निशुल्क स्वास्थ्य परीक्षणमा सहभागि भएका विद्यार्थी र शिक्षकलाई थप चेकजॉचका लागि ऑउदा ओपिडी शुल्क नलाग्ने चितवन मुटु अस्पतालका प्रवन्ध निर्देशक प्रभात शर्माले जानकारी गराउनुभएको थियो । निशुल्क स्वास्थ्य परीक्षणमा विद्यार्थीहरु उत्साहजनक रुपमा सहभागि भएका थिए ।
निशुल्क स्वास्थ्य परीक्षण अघि विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा चितवन मुटु अस्पतालका अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा शंकर लौडारीले मुटुको वनावट,मुटुको महत्व र संरक्षण गर्ने तरिकारको बारेमा विद्यार्थीसंग अन्तरक्रिया गर्नुभएको थियो । पछिल्लो समयको खानपान र बानीव्यवहारका कारण मुटुमा समस्या देखिएकोले घरबाहिरको खाना(जंङ्कफुड) नखान डा लौडारीले बिद्यार्थीलाई आग्रह गर्नुभयो । नियमित व्यायाम र असल अभ्यासमात्रै गर्न उहॉले विद्यार्थीलाई सुझाव दिनुभयो ।
त्यस्तै भरतपुर अस्पताल एवम् पुष्पाञ्जली अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा किरण देवकोटाले किशोरअवस्थामा देखिने परिवर्तन र यस्तो अवस्थामा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा प्रस्तुतिकरण गनुभयो । डा देवकोटाले किशोर अवस्थामा आउने परिवर्तनका कारण नहडवडाउन र सबै विषय अभिभावक एवम् शिक्षकशिक्षिकासंग भन्न सुझाव दिनुभयो । बढी मोर्वाइलको प्रयोग,घरबाहिरको खानपान र गलत संगतले विद्यार्थीलाई एन्जाईटि हुदै डिप्रेसनमा पुर्याउने खतरा हुने भएकोले सजग रहन डा देवकोटाले सुझाव दिनुभयो ।
चितवन मुटु अस्पतालका प्रवन्ध निर्देशक प्रभात शर्माले किशोर अवस्थाको मनोविज्ञान अत्यन्तै कमजोर हुने भएकोले केही समस्या देखिएजस्तो लागे तत्कालै अभिभावकलाई भन्न सुझाव दिनुभयो । त्यसैगरी कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य ई भोजराज कौडालले स्वास्थ्य सचेतना र स्वास्थ्य परीक्षण कार्यक्रमले विद्यार्थीलाई उर्जाशील बनाएको बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नं १३ का अध्यक्ष प्रकाश दवाडीले वडाले कार्यक्रम तर्जुका गर्दा सधै विद्यार्थीलाई केन्द्रमा राखेको जानकारी दिनुभयो । विद्यार्थीको स्वास्थ्य विग्रिए उसको भविष्य नै अन्धकार हुने भएकोले हरेक क्रियाकलापमा सचेत रहन र बेलैमा चेकजॉच गर्न उहाले आग्रह गर्नुभयो । स्वास्थ्य परीक्षण र सचेतनाका लागि आगामी वर्षमा पनि कार्यक्रम राख्ने उहॉले प्रतिवद्धता जनाउनुभयो ।
हिमालय दण्डपाणि माध्यमिक विद्यालयका प्राधानाध्यापक भानुभक्त सुवेदीले विद्यार्थीलाई दिइएको स्वास्थ्य सचेतना र स्वास्थ्य परीक्षणले थप स्फुर्ति दिलाउने बताउनुभयो । सोही बिद्यालयका शिक्षक रामहरी ढकालले संचालन गर्नुभएको कार्यक्रम दर्शन मिडियाका कार्यकारी निर्देशक प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा चितवन मुटु अस्पताल प्रा.लि,सेभ हर्ट फाउन्डेसन नेपाल,नेपाल हृदय रोग निवारण प्रतिष्ठान चितवन शाखा र पुष्पाञ्जली अस्पताल प्रा.लिले प्राविधिक सहयोग गरेका थिए ।

