चितवन । चितवन स्थित खैरहनी नगरपालिकाले एन्ड्रोइड र एप्पल फोनका लागि खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालय खैरहनीमा आयोजित एक विषेश समारोहकाबीच नगरपालिकाका प्रमुख शशी कुमार खनियाले मोवाइल एप्लिकेसनलाई सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले मोबाईल एपको प्रयोगले नगरबासीलाई नगरपालिकाको कार्यसम्पादनसँग जोडन थप सहज हुने उल्लेख गरे । एपको प्रयोगबाट नगरपालिका सम्बन्धी गुनासो व्यवस्थापन, सूचना प्रवाह छिटो र प्रभावकारी हुने, पारदर्शिता अभिवृद्धि हुने कागजी प्रक्रिया र म्यानुअल काम घट्दा समय र स्रोतको बचत हुने विस्वास रहेको नगरप्रमुख खनियाले जानकारी गराए ।
नगर उपप्रमुख कविता उप्रेतीले एप्लिकेसनको प्रयोगले नागरिकको तथ्यांक, कर र अन्य सेवाको डिजिटल रेकर्ड राख्न सजिलो हुने साथै एपबाट सेवा प्रवाह सम्बन्धी जानकारी नगरबासीले सहज रुपमा प्राप्त गर्ने र नगरपालिकाको निर्णय प्रक्रियालाई समेत यसले सहज बनाउने उल्लेख गरिन ।
सार्वजनिक गरिएको खैरहनी नगरपालिका मोबाइल एप्लिकेसन एप स्टोर र गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने यसले नगरपालिकाको सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउन सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णु प्र. सापकोटाले जानकारी दिएका छन् ।
कार्यक्रममा कृषि प्रसार अधिकृत गौरव न्यौपानेले एपमा रहेका विशेषताहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । सबै नागरिकलाई उल्लिखित मोबाईल एप प्रयोग गर्न अनुरोध गर्दै समयानुसार मोबाईल एपमा थप सुविधाहरु थप्दै लगिने नगरपालिकाले जनाएको छ ।

