काठमाडाैं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।
पक्राउ परेकामध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितले उजुरी दिएका थिए ।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका-७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

