नवलपुर । मङ्गलबार रातिको बाढीले डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ ।
सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरि अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको थियो । मङ्गलबार रातिको बाढीले फेरि डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
तत्काल यो सडक खुल्ने अवस्था नरहेकाले यो मार्ग भएर यात्रा नगर्न प्रहरीले सबैसित आग्रह गरेको छ । डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको नेपालले बताउनुभयो ।
खोलाले यो डाइभर्सन बगाएको यो छैटौं पटक हो । धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । जसका कारण सवारी साधनका चालक तथा सयौं यात्रु अलपत्र परेका छन् ।

