चितवन । चितवन उद्योग संघले भरतपुर महानगरपालिकाको उद्योगहरुको प्रबद्र्धन, नीतिगत राय सुझाब तथा राजश्व परामर्श समितिलाई सुझावहरु पेश गरेको छ । सुझावसँगसँगै औद्योगिक प्रवद्र्धनात्मक कार्य र औद्योगिक उत्पादनको बजारीकरण, उद्यमी उत्प्रेरणा तथा नयाँ उद्यमी सिर्जना लगायतका कार्यक्रमहरुका लागि आवश्यक बजेट उपलब्ध गराईदिन समेत माग गरेको छ ।
महानगरको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन हुँदा नयाँ उद्यमी सिर्जना हुने, महानगरका उद्योगहरुको प्रबद्र्वनमा सहयोग पुग्ने, थप रोजगारी सिर्जना हुने तथा महानगरको राजश्व बृद्धिमा समेत सहयोगी हुने र महानगरको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने लक्ष्यका साथ सुझावहरु पेश गरिएको हो ।
चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभएको सुझाव पत्रमा महानगरपलिकामा उद्योग ग्राम सञ्चालन गरी ध्वनी प्रदुषण गर्ने तथा सुरक्षाका दृष्टिकोणबाट संवेदनशिल प्रकृतिका उद्योगहरुलाई यथाशिघ्र उद्योग ग्राममा सञ्चालन हुने व्यवस्था गर्नुपर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सार्वजनिक कार्यक्रमहरुमा मायाको चिनो प्रदान गर्दा लघु, घरेलु तथा हस्तकलाका सामानहरुलाई अनिवार्य गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने, खेती योग्य जग्ग्गा बाँझो राख्ने परिपाटीलाई निरुत्साहित गर्न खेतियोग्य जमिन बाँझो राखेको हकमा एकिकृत सम्पत्ति करको दर ३ गुणा सम्म बृद्धि हुने नीतिगत व्यवस्था गर्नुपर्ने, स्थानीय तथा रैथाने उत्पादनको प्रवद्र्धनका लागि महानगर क्षेत्रभित्रका होटल तथा रिर्सोटहरुको खानाका परिकारहरुको मेनुमा अनिवार्य रुपमा स्थानीय रैथाने बालीका परिकारहरु पनि समावेश हुनुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका सुझाव रहेका छन् ।
सुझाव पेश कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरे, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्ष गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, भरतपुर महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लेखराज पन्त (हरि), संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै चितवन उद्योग संघ, राप्ती समितिले पनि राप्ती नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन हुँदा नयाँ उद्यमी सिर्जना हुने, राप्ती नगरपालिकाका उद्योगहरुको प्रबद्र्वनमा सहयोग पुग्ने, थप रोजगारी सिर्जना हुने तथा राप्ती नगरपालिकाको राजश्व बृद्धिमा समेत सहयोगी हुने र राप्ती नगरपालिकाको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने लक्ष्यका साथ सुझावहरु सहित बजेटको माग गरिएको हो ।

चितवन उद्योग संघ राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेले राप्ती नगरपालिकाका नगर प्रमुख शम्शेर लामालाई पेश गर्नुभएको सुझाव पत्रमा राप्ती नगरपालिका क्षेत्रभित्र रहेका सरकारी विद्यालयहरुमा नगरपालिकाले उपलब्ध गर्ने दिवा खाजामा स्थानीय तथा रैथाने उत्पादनहरु नै समावेश गर्ने व्यवस्था सहित स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सहयोगी हुने गरी उद्योगहरुका छाता संस्थासँगको सहकार्यमा नगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन मेलाको आयोजना गर्नुपर्ने, कृषिजन्य उत्पादनको बजार सुनिश्चितताका लागि न्यूनतम समर्थन मूल्य तोकी कृषकले सो मूल्य भन्दा कममा बिक्री गर्नुपर्ने अवस्थामा विमाबाट पूर्ति हुने व्यवस्था सहित कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने लगायतका सुझावहरु पेश गरिएको छ ।
सुझाव पेश कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, राप्ती नगरपालिका वडा नं. १ का वडाअध्यक्ष सिद्धिलाल स्याङ्ग, वडा नं. ७ का वडाअध्यक्ष सुमिता डल्लाकोटी, चितवन उद्योग संघका कार्यकारी निर्देशन गणेश प्रसाद सिलवाल, राप्ती समितिका पूर्व अध्यक्ष टंक प्रसाद उप्रेती लगायतको सहभागिता रहेको थियो ।

