चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।
मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको बताए।
‘हामी अहिले प्रतिपक्षको हिसाबले कमजोर छौँ,’ प्रचण्डले भने, ‘यही कारण हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै दुई सातासम्म संसद् अवरुद्ध पारेको माओवादीले गएको शुक्रबार नेकपा एमालेसँग दुई बुँदे सहमति गरेपछि संसद् अवरुद्ध गर्न छाडेको छ। तर, यही प्रकरणमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने अझै संसद् अवरुद्ध जारी राखेका छन्।
भिजिट भिसा प्रकरणमा लामो समयसम्म संसद् अवरुद्ध गरेको माओवादीले बेअर्थको दुईबुँदे सम्झौता गरेको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।
प्रचण्डले भने बजेट माथिको छलफलका लागि संसद्को अवरोध हटाउनु परेको बताए। ‘दुई बुँदे सहमति गरेर संसद् खोल्नु हामी जिम्मेवार ढंगले प्रस्तुत भएको पनि हो,’ उनले भने, ‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तर, परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्या होला? भन्ने पनि लाग्छ।’

