नवलपुर। बाढीले डाइभर्सन बगाउँदा नवलपुरमा मंगलबार बिहानैदेखि सवारी साधन अवरुद्ध भएका छन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको डाइभर्सन गएरातिको बाढीले बगाउँदा आज मंगलबार बिहान चार बजेदेखि नै त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले जानकारी दिए,।
‘गएरातिदेखि भइरहेको वर्षाले विनयी खोलामा ठूलो बाढी आएको छ,’ डीएसपी नेपालले भने, ‘अहिले पनि बाढी डाइभर्सनमाथिबाट बगिरहेको छ। बाढी ठूलै भएकाले त्यहाँबाट तत्कालै गाडी चल्न सक्ने अवस्था छैन।’
बाढीको कारण विनयी खोलाको वारिपारी मालबाहक सवारी र ठूला बस रोकिएका छन्। साना गाडीलाई भने होङ्सी सिमेन्ट कारखानको मार्ग, सर्दीहुँदै दुम्किबास बजार निस्किने व्यवस्था मिलाइएको उनले बताए।
तर त्यसरी गएका सवारी साधन पनि दाउन्नेको उकालोको हिलाम्मे सडकमा फसिरहेका डीएसपी नेपालको भनाई छ।
दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा लामो समयदेखि नै समस्या हुँदै आएको छ। हिलो र चिप्लो सडकमा गाडी चलाउन समस्या भएपछि दुम्किबास क्षेत्रमा अहिले सयौँ सवारी साधन रोकिएका छन्।
नवलपुरमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते भाँचिएपछि त्यस क्षेत्रमा गाडी सञ्चालनमा समस्या हुँदै आएको छ।

