काठमाडौँ। फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडाैँमा सकुशल फेला पारेकाे हाे।जिल्ला प्रहरी परिसरको टोलीले बालाजु नजिक तार्केश्वरमा फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेकाे थियो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ ।
उनलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरी परिसर काठमाडौँ कार्यालयमा ल्याइएको छ। त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले बताए।
सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए ।
डा. श्रेष्ठ नवलपुर गैँडाकोटका स्थानीय हुन् । रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौँडामा सरुवा भैसकेको छ ।

