चितवन। चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । हृदयघातका कारण शनिबार बिहान पियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पिया २०८० मा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका थिए । संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई सुगरको समस्या थियो। आमा र भाई भारतमा रहेको र आउने क्रममा रहनुभएकाले पियाको अन्त्येष्टि भोलि गर्ने तयारी गरिएको छ।
२०३४ सालमा जन्मिएका पिया २०८० सालको साउन २३ गते चितवनमा भएको अधिवेशनबाट चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । । यसअघि सदस्य उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिकामा पनि कार्यरत रहनुभएका पिया नेपालको क्रिकेटको विकासमा सक्रिय थिए । उनका श्रीमती, छोरा, छोरी, भाई र आमा छन् ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्षको रुपमा पियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तयारी र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना गर्दै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुर्याएका थिए । उनले राष्ट्रिय खेलाडि सन्दीप लामिछानेलाई सम्मान गर्दै चितवनको खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सन्दिपलाई राष्ट्रिय खेलाडि बनाउन समेत पियाको योगदान छ ।

