चितवन। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा नेपालमै पहिलोपटक रक्तदान महोत्सव हुने भएको छ।
अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर यहि शनिबार, जेठ ३१ गते, भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा उक्त महोत्सव आयोजना भएको हो । ब्लड डोनर्स सोसाइटी चितवनका अध्यक्ष एकराज बुर्लाकोटीले एकैदिन १,५०० पिन रगत संकलन गर्ने लक्ष्यसहित व्यापक तयारी गरिएको जानकारी दिनुभयो।
उहाँले युवाहरुलाई रक्तदानतर्फ आकर्षित गरी नियमित रक्तदाताको रुपमा उत्प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण, प्रभातफेरि कार्यक्रम राखिएको छ । यस्तै गत आर्थिक वर्षभित्रमा एक सय भन्दा बढी पिन रगत संकलन गर्ने संघसंस्था र व्यक्तिहरुलाई पनि विशेष सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले चितवनमा आवश्यक रगतको आधारमा यो महोत्सव आयोजना गरिएको बताउनुभयो ।

