चितवन । पुन समाज पूर्वी चितवन क्षेत्रीय समितिले भूमे पूजा–२०८२ सम्पन्न गरेको छ । पुन जातिमा हरेक वर्ष जेठ पूर्णिमाको अवसर पारेर जमिन, बोटबिरुवा र पशुपक्षीको पूजागरी भूमे पूजा मनाइने चलन रहेको छ ।
कार्यक्रममा प्रमुखअतिथि खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाँले हालको समयमा विभिन्न युद्धको कारणले गर्दा आणविक बमहरूको पनि प्रयोग भएर भूमि बिग्रिरहेको अवस्थामा पुन समाजले गरेको यो भूमि पूजाबाट भूमिको हित हुने वैज्ञानिक कारण रहेको र यसको खोजी–नीति सरकारले पनि गर्नुपर्ने बताए ।
कार्यक्रममा खैरेहनी–९ का वडाध्यक्ष बन्धु महतो, पुन समाज नेपाल केन्द्रीय अध्यक्ष भीमबहादुर फगामी पुन, पुन समाज नेपाल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष धनबहादुर गर्बुजा पुन, पुन समाज नेपाल जिल्ला कार्यसमिति चितवनका उपाध्यक्ष हरि खरोजा पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पुन समाज पूर्वी चितवन क्षेत्रीय समितिका सचिव काशिराम पुनले समग्र भूमिमा निर्भर रहेका प्राणीहरूको लागि पशुपक्षीको लागि सुस्वास्थ्य र हितको कामना गर्दै भूमिपूजा गरिने चलन रहेको बताए ।
पुन जातिको सबैभन्दा ठूलो पूजा, भूमे पूजा रहेको र विगत तीन वर्षदेखि मनाइँदै आएको पुन समाज पूर्वी चितवन क्षेत्रीय समिति खैरहनी नगरपालिका सिमलटाँडीका अध्यक्ष डिलबहादुर पुर्जा पुनले बताए ।

