चितवन । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मारेर खाग बिक्री व्यवसायी गरेको आरोपमा मुद्दा लागेका ८ जनालाई पक्राउ गरि पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिनुभएको जानकारी अनुसार निकुञ्जको आईल्याण्ड क्षेत्रमा बि.सं. २०७७ भदौमा गैंडा मारेको अभियोग लागेका दुई जनालाई पक्राउ गरिएको छ भने चार जना फरार रहेका छन् । सो अभियोगमा पक्राउ पर्नेमा नवलपरासी बुलिङ्गटार गाउँपालिका वडा नं. १ घर भई गैंडाकोट नगरपालिका वडा नं. १ बस्ने ३२ वर्षिय चतुरे भन्ने गोपाल सारु र धादिङको रोराङ्ग गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षिय कवि भन्ने रामकुमार श्रेष्ठ रहेका छन् । सारुलाई साउन ३२ गते र श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको हो ।
निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैंडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा संलग्न रहेको अभियोग लागेका चार जना फरार रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ बस्ने ३० वर्षिय विजय कान्छ भनिने जयबहादुर प्रजा, मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ मसिने खोला बस्ने ३६ वर्षिय दिलिप एवं दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजा र धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षिय कवि भन्ने रामकुमार श्रेष्ठ रहेका छन् । जयबहादुर प्रजालाई भदौ ४ गते, दिलबहादुर प्रजालाई र र श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको हो ।
बि.सं. २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुले चौरको खोल्सीमा गैंडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा संलग्न रहेको अभियोग लागेका सात जना फरार रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरका सरिखेत गाउँपालिका वडा नं. ९ बस्ने करण मुक्तान भन्ने करण प्रजा, मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ बस्ने मसिने टोङ्ग्रा खोला बस्ने सुरेश प्रजा र मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ का २७ वर्षिय बाबु भनिने सरोज मुक्तानरहेका छन् । उनीहरुलाई भदौ ४ गते पक्राउ गरिएको हो ।
निकुञ्जको घाँघरपोष्टदेखि १.५ किमीमा पर्ने ढड्डाघारीमा बि.सं. २०७७ जेठमा गैंडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा संलग्न रहेको अभियोग लागेका पाँच जना फरार रहेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नंं ७ देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरुङ रहेका छन् ।
यस्तै मकवानपुरका सरिखेत गाउँपालिका वडा नं. ९ बस्ने वृन्दासिंह प्रजालाई पनि निकुञ्जले पक्राउ गरेको छ । यस अघि नै दुई वटा गैंडा मारेको मुद्दामा फरार रहेका उनलाई पक्राउ गरि कारागार चलान गरिएकोमा पुनः अर्का दुई मुद्दामा जोडिएपछि अनुसन्धानका लागि निकुञ्ज लगिएको हो ।
चार वटा गैंडा मार्न संलग्न १७ जनामध्ये हालसम्म ८ जनालाई पक्राउ गरिएको छ भने नौ जना फरार रहेको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । चालु आर्थिक वर्षमा गैंडा मुद्दाका १४ जना पक्राउ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गैंडा तस्करमा संलग्न हुनेहरु प्रायः जसो एउटै परिवारका रहने गरेका छन् । एउटै परिवारका सदस्य मिलेर काम गर्दा सूचना बाहिर नजाने र सुरक्षित भईने भएकाले एकै परिवारका सदस्यहरु बढी संलग्न हुने गरेको उहाँले जानकारी दिनुभयो ।
गैंडा तस्करमा संलग्न भई कारागार जीवन बिताएर फर्किएकाहरु नै पुनः यो काममा लागेको पाईन्छ ।

