चितवन। भरतपुर महानगरपालिका–२९, लामागाउँमा एकै परिवारका सदस्यसहित ५ जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, नातिनी ४ वर्षीया आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार छन्।
उनीहरूलाई उपचारका लागि शनिबार साँझ ६ बजे भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो। धनबहादुर गुरुङ र मनमाया गुरुङको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ।
यता, चितवनकै राप्ती नगरपालिका–११, कोराकमा पनि जंगली च्याउको तरकारी खाँदा एउटै परिवारका ६ जना बिरामी भएका छन्।
बिरामी पर्नेमा ३० वर्षीया माया प्रजा, ३५ वर्षीया बुद्धि माया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीया अमृत प्रजा र २८ महिनाकी शिशु सलिन प्रजा रहेका छन्।
च्याउको तरकारी खाएपछि विभिन्न स्वास्थ्य समस्या देखा परेका उनीहरूलाई उपचारका लागि शनिबार राति ११ बजे सरकारी अस्पताल, भरतपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ। यी बिरामी सबैको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ।

