चितवन । चालु आर्थिक बर्ष ०७७/ ७८ को ९ महिनामा यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले ५० करोड ६० लाख भन्दा बढी आम्दानी गरेको छ ।कार्यालयका अनुसार श्रावण देखि चैत्र सम्मको अवधिमा कार्यालयले कुल ५० करोड ६० ला ६६ हजार १सय २ रुपैयाँ आम्दानी गरेको हो ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी,प्रशासनिक दण्ड जरिवाना , सवारीसाधन कर, सवारी दस्तुर शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ । जसअनुसार चालु आवको चैत्र महिनामा सबै भन्दा बढी ७ करोड ५० लाख १४ हजार ६ सय ३१ रुपैयांँ राजश्व संकलन गरेको छ भने भदौ महिनामा सबै भन्दा कम २ करोड २४ लाख ४ हजार राजश्व संकलन गरेको छ ।गतबर्ष कार्यालयले ४६ करोड ५३ लाख ७९ हजार रुपैयाां राजश्व संकलन गरेको थियो ।
कार्यालयका प्रमुख सुवास उप्रेतीले कोरोनाको प्रभाव कम हुदै जांँदा र यातायात पूर्णरुपमा सुचारु भएसंँगै हालसम्म राजश्व संकलन अनुपात सन्तोषजनक रहेको बताए । ‘भदौ महिनामा तीन हप्ता पूर्ण लकडाउन भएर राजश्व संकलन कम देखिएको हो, उनले भने, चैत्र महिनामा सवारीसाधन कर तिर्ने अन्तिम म्याद भएकोले अन्य महिनाको भन्दा बढी उठ्ने गर्छ ।’
यस्तै कार्यालयले श्रावण महिनामा ६ करोड १७ लाख २४ हजार ७सय १६ रुपैयांँ, असोज महिनामा ७ करोड १३ लाख ३९ हजार ४सय ९२ रुपैयांँ , कार्तिक महिनामा ५ करोड ९८ लाख ३३ हजार ५सय ९३ रुपैयांँ राजश्व संकलन गरेको जानकारी दिएको छ । यस्तै मंसीर महिनामा ६ करोड ३१ लाख २० हजार ८सय ९० रुपैयांँ,पुष महिनामा ६ करोड २२ लाख ४ हजार ६सय ६८ रुपैयांँ, माघ महिनामा ४ करोड ८५ लाख ५१ हजार एकसय ७२ रुपैयांँ र फागुन महिनामा ४ करोड १८ लाख ७२ हजार ८सय ६३ रुपैयांँ संकलन गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, वागमती प्रदेशले कार्यालयलाई चालु आवका लागि ५० करोड राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले आर्थिक बर्ष सकिनु तीन महिना अघिनै लक्ष्य पुरा गरिसकेको छ ।
उप्रेतीका अनुसार सवारीको संख्या बढ्दै जांँदा करप्रति सवारीधनीको सचेतना र करको दरमा केही बृद्धिभएका कारण विगतका बर्षहरुमा भन्दा बढी कर संकलन गर्न सकिएको हो । तर दोस्रो लहरको कोरोना संक्रमणको कारण बैशाखबाट तुलानात्मक रुपमा कम उठ्ने गरेको उप्रेतीले जानकारी दिए । ‘चैत्र सम्मको ट्रेण्ड हेर्दा लक्ष्य पनि पार गरिसकेका छौं ।, उनले भने, यो आर्थिक बर्षको अन्तसम्म ६० करोड संकलन हुने अनुमान छ । तर कारोनाको कारण आगामी महिनामा के कस्तो असर पर्छ भन्न सकिदैन ।’
हाल यो कार्यालयमा बाग्मती प्रदेशमा दर्ता भएका सबै सवारी साधन र अन्य प्रदेशमा सवारीसाधन दर्ता भएपनि चितवनमा स्थायी बसोबास गरेका सवारी धनीले कर बुझाउन पाउनेछन ।