चितवन। चितवनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको धानको बीउ बिक्री हुने गरेको पाइएको छ। केही वर्ष पहिलेदेखि नै गुणस्तरहीन सुचिमा समावेश गरेर आयात तथा बिक्री वितरणमा रोक लगाइएको भारतीय धानको बीउ अहिले चितवनका भरतपुर ,राप्ती , रत्ननगर, माडी नगरपालिका लगायतका ठाँउमा खुलेआम बिक्री भैरहेको पाइएको हो।
खास गरी नेपालको भैरहवा क्षेत्रमा प्याकेजिङ्ग गरिएको गोरखनाथ-५०९ लगायत सरकारले सुचिकृत नगरेका नक्कली धानको बीउ एग्रोभेट, भेटेरिनरि,तथा सहकारीहरुमा छ्याप्छ्याप्ती बिक्री भैरहेको छ।
केही वर्ष अघि देखि नै नेपाल सरकारले गुण अनुरुपको नभएको भन्दै गोरखनाथ-५०९ जातको धानको बीउलाइ सुचीबाट हटाएको थियोे । यसरी गोरखनाथ-५०९ लगायतका अन्य सुचिकृत नभएको धानको बिउहरु बजारमा छ्यापछ्यापती बिक्रि भईरहदा पनि सम्बन्धित निकायले कुनै अनुगमन गरेको छैन ।
कृषि विकास कार्यालय चितवनकी कृषि प्रसार अधिकृत विन्दु पौडेलका अनुसार यो वर्ष चितवनका एग्रोभेटहरुमा धानको बिउको कुनै अनुगमन गरिएको छैन । उनी भन्छिन् , कुनै एग्रोभेटहरुले सुचिकृत नभएको धानको बीउ बेचेको पाइएमा कानुन अनुसारको कारबाही गर्छौ । त्यस्तै कुनै पनि एग्रोभेटहरुले सूचिकृत नभएका बिउ विक्री गरेर किसानलाई कुनै प्रकारको क्षति तथा नोक्सानी भएमा किसानले क्षतिपूर्ति माग गर्न पाउने कानुनमा व्यवस्था रहेको उनले बताइन् ।
सरोकारवाला निकायले अनुगमनमा चासो नदिदा कृषकहरु ठगिने गरेको स्वयम् कृषकहरुले नै बताएका छन्। हामीले बीउ किन्दा एग्रोभेटले बिल समेत दिदैनन एक किसानले भने।
बीउ बिजन नयमावली २०८१ मा बीउ बिजन ऐन, २०४५ को दफा २४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको थियो। जसमा बिउको निरिक्षण , गुणस्तर परीक्षण र प्रमाणिकरण प्रक्रिया स्पष्ट लेखिएको छ । निरीक्षणमा अवैध बिउ भेटिएमा त्यस्ता बीउ नष्ट गर्न सकिने र सम्बन्धित बिक्रेता विरुद्द कारबाही प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था छ ।
ऐेनको दफा १२ अनुसार कसैले ऐेनविपरीत कार्य गरेमा अधिकतम ६ महिना सम्म जेल सजाय / अधिकतम पाँच हजार रुपैयाँसम्म जरिवाना दुवै हुन सक्ने छ । बीउ बिजन ऐन दफा १४ मा कानुन विपरीत कार्य गरेमा अनुमतिपत्र खारेज गर्न सक्ने पनि उल्लेख गरिएको छ।
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार नेपालमा हालसम्म १ सय ४८ जातको धानको बिउलाई सूचिकृत गरिएको छ भने ४० वटा जातको धानको बिउलाई सूचिकृत बाट हटाइएको छ । धेरै रोग लाग्ने , किरा लाग्ने , आयात अनुमति नभएको , अन्य जातको प्याकेज गरि बेचबिखन गर्ने , जस्ता कारणले गर्दा ४० प्रकारको धानको बिउमा असूचिकृत गरिएको हो। जसमा गोरखनाथ-५०९, गरिमा,गंगोत्री , बैशााली, सुरज, तारा, चैते, हिमाली, जानकी, बर्षे,खजुरा, लक्ष्मी , दुर्गा , जया, अन्य धानका प्रकारहरु रहेका छन् ।

