चितवन। जलवायु परिवर्तनको मुद्दा अहिलेको जल्दोबल्दो विषय हो । यही विषयमा भरतपुर महानगरपालिकाबाट भएका प्रयासबारे बुधबार भरतपुरमा बृहत् अन्तरक्रिया गरिएको छ । भरतपुर महानगरपालिकाको सहयोग एवम् समन्वय र दर्शन मिडिया भरतपुर, चितवनको आयोजनामा कार्यक्रम गरिएको हो ।
‘जलवायु परिवर्तनको अवस्था, प्रभाव एवम् जलवायु अनुकूलनका लागि भरतपुर महानगरपालिकाको प्रयास’ विषयक अन्तरक्रिया भरतपुर महानगरपालिका वडा नम्बर १२ को सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाकी शाखा अधिकृत शारदादेवी शर्मा र अधिकृत सुरज पौडेल प्रशिक्षक रहेका थिए । उनीहरुले सहभागीलाई जलवायु परिवर्तनका मुद्दाबारे जानकारी दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमु विसुराम कुँवर थिए । उनले जलवायु परिवर्तनको समस्या विश्वव्यापी समस्या रहेको बताउँदै यसको समाधानका लागि स्थानीय स्तरबाट प्रयास गरिनु पर्ने विचार व्यक्त गरे ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त ‘हरि’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई दर्शन मिडियाका कार्यकारी निर्देशक प्रकाशमणि ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १, २, ३, ८, ९, १०, ११ र १२ का जनप्रतिनिधि, टोलसुधार समिति र आमा समूहका अध्यक्ष वा प्रतिनिधि, शिक्षक एवम् अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

