चितवन । पर्यटन कार्यालय सौराहाको आयोजना तथा बकुलहर रत्ननगर अस्पतालको प्राविधिक सहयोगमा देवघाट स्थित बृद्धाश्रमहरुमा रहेका बृद्धबृद्धाहरुलाई लक्षित गरि शनिबार निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ ।
कार्यालयका बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत धार्मिक पर्यटकीय स्थल देवघामा स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको कार्यालयका प्रमुख प्रेमप्रसाद ढकालले जानकारी दिए । प्रदेश सरकार अन्तर्गत स्थापना भएको कार्यालयले पर्यटन विकासको अलवा पर्यटकीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको स्वास्थ्य जाँचको लागि शिविर आयोजना गरिएको उनले बताए । शिविरमा ९२ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको छ ।
बुकलहर रत्ननगर अस्पतालका मेसु डा.मदन ज्ञावलीको नेतृत्वमा डा.शशांक सिंह, डा.रमेश पौडेल, डा.विकास पौडेल, डा.सविन पौडेलले शिविरमा जचाउन आएकाहरुको उपचार गरेका थिए । शिविरमा स्त्री तथा प्रसुती, नाक, कान, घाँटी, जनरत फिजिसियन, मधुमेह, उक्तरक्तचाप, पिसाबको प्रोटिन जाँच गरिएको थियो । सीताराम संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल प्रमुख अतिथि रहेको उद्घाटनमा अस्पतालका मेसु डा.ज्ञावलीले समुदाय स्तरमा सञ्चालित स्वास्थ्य परीक्षण शिविर अस्पतालको कार्ययोजनामै समाबेश रहेको बताए ।
गाउँ र बस्तीमा पुगेर सेवा प्रदान गर्दा आत्मसन्तुष्टि प्राप्त हुने उनको भनाई छ । पर्यटन कार्यालय सौराहाका प्रमुख ढकालको अध्यक्षतामा भएको कार्यक्रम अस्पतालका ल्याब टेक्निसियन निरीक्षक सुरज अधिकारीले सञ्चालन गरेका थिए ।

