नयाँ दिल्ली । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ
टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ, बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।
गत सोमबार, मे ५ मा, बद्रीनाथ धाम क्षेत्रमा खराब मौसमका कारण, तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै गरेको हेलिकप्टर गोपेश्वर खेल मैदानमा आपत्कालीन अवतरण गर्नुपरेको थियो । करिब पाँच मिनेट जमिनमा रहेपछि, हेलिकप्टर देहरादूनतिर प्रस्थान गरेको थियो ।
दिउँसो २ बजेतिर, पिपलकोटी र चमोली बीचको मौसम खराब भएपछि बद्रीनाथको दर्शन गरेर देहरादुन जाँदै गरेका तीर्थयात्रीहरूलाई बोकेको हेलिकप्टरले गोपेश्वर प्रहरी मैदानमा आपत्कालीन अवतरण गर्ने प्रयास गर्यो, तर त्यहाँ पार्क गरिएको गाडीका कारण हेलिकप्टर खेल मैदानतिर आयो ।