चितवन । भरतपुर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा हट्न लागेको अफवाह फैलिरहेका बेला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम नहट्ने बताएका छन् । स्वास्थ्य बिमाका बिरामीको उपचार खर्चवापत भरतपुर अस्पतालले सरकारबाट पाउनु पर्ने रकम (दाबी भुक्तानी) ६० करोड रुपैयाँ पुगेपछि स्वास्थ्य बिमा कार्यक्रम हट्न लागेको भनी केही सञ्चारमाध्यममा समाचार आएको थियो ।
चालु आर्थिक वर्षमा बिमा वापतको दाबी भुक्तानी रकम सरकारबाट ३५ करोड रुपैयाँ आएको र अझै ६० करोड रुपैयाँ आउन बाँकी रहेको मेसु पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षको साउनदेखि यताको दाबी भुक्तानी रोकिएको उनले बताए । एमआरआई गराएका बिमाका बिरामीहरुको मात्रै चार करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको मेसु पौडेलले जानकारी गराए ।
भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दुईतिहाइभन्दा धेरै बिमाका बिरामी छन् । ‘यस अस्पतालमा उपचार सेवा लिनेमध्ये ७० प्रतिशत जति बिमाका बिरामी छन्’ मेसु पौडेलले भने, ‘अस्पतालमा प्रयोगशाला परीक्षण (रगत, दिसापिसाब जाँच), ९० प्रतिशत बिमाका छन् । इमेजिङतर्फ ( एक्सरे, भिडियो एक्सरे, सिटीस्क्यान, एमआरआई) सेवा लिनेमध्ये ८० प्रतिशत बिमाका बिरामीहरु छन् ।’
स्वास्थ्य बिमा बोर्डबाट हुनुपर्ने भुक्तानीको सिस्टम अलि ढिलो भएको उनको गुनासो थियो । ठुलो रकम भुक्तानी रोकिँदा अस्पतालले विभिन्न सप्लायर्सलाई रकम दिन ढिलाई हुने गरेको र यसले सेवाको गुणस्तरमा असर पारिरहेको उनको भनाइ छ । चारचार महिनामा दाबी भुक्तानीको रकम पठाउने गरेमा अस्पतालहरु समस्यामा नपर्ने उनी बताउँछन् । लामो समयसम्म ठुलो रकम भुक्तानी रोकिँदा समस्या आएको उनले प्रष्ट पारे । बिमाका बिरामीहरुले सहभुक्तानी गर्नुपर्ने दस प्रतिशत रकमबाट आंशिक सहयोग पुगेको मेसु पौडेलले बताए ।
बिमाको लागि भनेर औषधीको पत्तामै लेखेर आएका केही औषधी बजारमा बिक्री भएको गुनासो सुनिएको छ नि ? भन्ने प्रश्नमा मेसु पौडेलले भने, ‘यदि त्यस्तो कार्य भएको रहेछ भने त्यो पूर्णरुपमा गैरकानुनी काम हो । त्यसमा संलग्न बिरामी, कर्मचारी वा अन्य जो कोहीलाई प्रहरीले पक्राउ गरी थुन्नु पर्छ । आवश्यक कानुनी कारबाही गर्नु पर्छ । त्यस्ता व्यक्तिहरु कानुनी सजायको भागीदार हुनु पर्छ ।’