चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा शैक्षिक क्रियाकलापहरुलाई निरन्तरता दिन विभिन्न शिक्षक संगठनहरु सहमत भएका छन् । शिक्षकहरुको आन्दोलनका कारण ठप्प बनेको शैक्षिक क्रियाकलापहरुलाई नियमितरुपमा सञ्चालन गर्न सहमत भएका हुन् ।
आइतबार गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले नियमित शैक्षिक क्रियाकलापहरुलाई शिक्षक महासंघको राष्ट्रव्यापी शैक्षिक आन्दोलनका कारणले रोकिएको भर्ना अभियान, पाठ्यपुस्तक वितरण र शैक्षिक सत्र २०८१ को आधारभूत(तह कक्षा ८)को ग्रेड वृद्धि परिक्षा सञ्चालन हुन बाँकी रहेको कार्य यथाशिघ्र सञ्चालन गर्ने र विद्यालयहरुले यस महिनाभित्र सम्पादन गर्नुपर्ने नियमित विद्यालय प्रशासकिन कार्य तोकिएको समयभित्र गर्न निर्देशन दिएको छ ।
शिक्षा समितिको उक्त निर्णयमा नेपाल शिक्षक संघका इच्छाकामनाका अध्यक्ष यान बहादुर गुरुङ, राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सुजन सापकोटा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हिमलाल अधिकारीले हस्ताक्षर गरेका छन् ।

