चितवन । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कालिका नगरपालिकाले बुधबार सरोकारवालाहरुसँग सहकारी दिवसमा कालिकामा सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
ऋण लगानी, असुली र कानुन कार्यान्वयनमा देखिएका समस्याका बारेमा बुझ्न अन्तक्र्रिया कार्यक्रम अयोजना गरिएको कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले बताए । उनले कालिका नगरपालिका दुग्ध उत्पादन, च्याउ र महमा नेपालमै नमुना नगर भएको बताए ।
नगरप्रमुख रेग्मीले कालिका नगरपालिकाभित्र सञ्चालित सहकारीहरुको नगरपालिकाबाट नियमित अनुगमन भइरहेको बताउँदै सहकारीले ऋण लगानी गर्दा सहकारीको मूल्य र मान्यताभित्र रहेर ऋण प्रवाह गरेका सहकारीमा समस्या कम हुने बताए ।
नगरपालिका सधैँ कृषकको साथमा रहेको बताउँदै कृषि क्षेत्रमा कर कम लिने गरिएको नगर उपप्रमुख विमला तामाङले बताइन् । उनले कृषकहरुलाई आयआर्जनमा लाग्न सुझाव दिइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् स्थानीय सहकारी रजिस्टार देवराज चौलागाईंको अध्यक्षता तथा नगरप्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कालिका नगरपालिकाभित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकहरुले प्रतिनिधिमूलकरुपमा सहकारीमा ऋण लगानी, ऋण असुली, कानुनी अड्चन, दुग्ध किसानको भुक्तानी समयमा हुन नसकेकोलगायत सहकारीले भोग्नुपरेका समस्याहरुका बारेमा जानकारी दिएका थिए ।


