चितवन। उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच चितवनको कृषि विकासका साथै आधुनिकिरणका लागि दुवै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र १९ गते एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा बोल्दै कृषि तथा वन विश्वविद्यालयका उपकुलपती प्रा.डा शारदा थपलियाले कृषि तथा वन विश्वविद्यालयले कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र सेवाहरूमा उत्कृष्टताको केन्द्र बन्न प्रयासरत रहिरहेको बताउँदै उहाँले विश्वविद्यालयले ग्रामीण सामाजिक–आर्थिक अवस्था सुधार गर्न कृषि र कृषि सम्बद्ध विज्ञानहरूमा दक्ष पेशेवरहरू विकास गर्दै रोजगारी सृजनाका साथै प्रदान गर्दै आईरहेको बताउनु भयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संयुक्त अनुसन्धान सञ्चालन गर्दै आएको जानकारी गराउँदै नीति विकास र तालिम सहित सम्बन्धित सरकारी संस्थाहरूलाई व्यावसायिक सेवाहरू समेत प्रदान गर्दै आएको बताउनुभएको थियो । कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरूले कृषि समुदायमा उत्पादकत्व वृद्धि गर्न र दिगो जीविकोपार्जन प्रणाली सिर्जना गर्न कृषि चुनौतीहरूलाई सम्बोधन गर्ने ज्ञान र प्रविधिहरू उत्पादन गर्दै आईरहेको बताउँदै अवको कृषि विकासमा उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गरेर अगाढी बढ्दा चितवनको कृषि विकासले फड्को मार्ने विश्वास व्यक्त गनुभएको थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघले मूख्यत चार क्षेत्रहरु शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै उहाले सूचना प्रविधिको विकासमा पनि संघ लागिरेको बताउँनुभयो । संघले व्यावसायिक समुदायको हितको संरक्षण र प्रवद्र्धन गर्नुका साथै जिल्लामा सामाजिक कार्यहरूमा निजी क्षेत्रलाई परिचालन गर्न र आफ्ना सदस्यहरूमाझ चेतना जगाउन हरसम्भव प्रयास गर्दै आईरहेको बताउँनुभएको थियो । उहाँले सरकारी र गैर–सरकारी संस्थाहरू समन्यमा सदस्यहरूलाई आवश्यकतामा आधारित सेवाहरू प्रदान गर्दै तालिम, कार्यशाला र सेमिनारहरू सञ्चालन गरेर आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै आईरहेको बताउनुभएको थियो ।
उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच भएको सम्झौता पत्रमा कृषि, पशु चिकित्सा विज्ञान, मत्स्य पालन र कृषि व्यवसायमा अनुसन्धान, नवप्रवर्तन र सीप विकासलाई प्रवद्र्धन गर्ने । दिगो आर्थिक वृद्धिको लागि उद्योग–शिक्षा सम्बन्धलाई सुदृढ पार्ने । कृषि तथा पशुधन क्षेत्रमा प्रवद्र्धन गर्नु, बजार सम्बन्ध र उद्यमशीलताको विकास गर्न, व्यवसाय इन्क्युबेशन केन्द्रहरू स्थापना गर्न, किसान, उद्योग र अर्थतन्त्रलाई फाइदा पुग्ने नीति र अभ्यासहरूको वकालत गर्न, कृषि सम्बन्ध व्यवसायीहरुलाई तालिम सेमिनार सञ्चालन गर्ने, लगायत कृषि सम्बन्ध कार्य तथा विकासका लागि दुवै संस्था मिलेर लाग्ने सम्झौतामा उल्लेख रहेको छ ।
सम्झौता पत्रमा कृषि तथा वन विश्वविद्यालयको तर्फबाट उपकुलपती प्रा. डा. शारदा थपलियाले हस्ताक्षर गर्नु भएको छ भने उद्योग वाणिज्य संघ – चितवनको तर्फबाट संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष राजेन्द्र ओली र कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

