बैतडी । बिहीबार बिहान बैतडीको सुर्नया गाउँपालिका-४ सन्सेरीमाडाैंका मासु पसले ५६ वर्षीय कमल महराको शव फेला पर्यो । आफ्नो पसल भन्दा करिब २ सय मिटर टाढा रहेको रामबहादुर महराको पसल अगाडि मृत भेटिएका कमलको शवको प्रकृति हेर्दा टाउको, छाती र खुट्टमा गम्भीर चोट थियो भने शरीरमा निलडाम र घाउहरू थिए ।
अनुसन्धानका लागि बिहीबार घटनास्थल पुगेको प्रहरीले ७ जनालाई पक्राउ गर्यो । तर प्रहरीले शक्रबार ३ जनालाई सामान्य सोधपुछ गरेर घर पठाएको छ भने, ४ जना प्रहरी हिरासतमा छन् । प्रहरी हिरासतमा रहेका १ जना सोझो प्रकृतिका शंकर महरा छन् भने अर्का उनकौ भाइ हरिश छन् । तर २ जना कडा स्वभावका छन् ।
हत्या प्रकरणमा समातिएका होटल ब्यवसायी रामबहादुर महरालाई गाँउघरमा सबैले रावण भनेर चिन्छन् । आर्थिक अवस्था बलियो भएका ‘रावण’ आफू त्यस ठाउँका लागि टाइगर भएको बताउथे । तर मृतक कमल भने रावणलाई नै विश्वास गर्दथे । स्थानीयका अनुसार कमल आफ्नो पसलमा बढी काराेबार भएको दिन रावणको पसलमा लगेर पैसा जम्मा गर्दथे ।
घटनामा मुख्य अभियुक्त भनिएका सुर्नया- ५का रामबहादुर मडै बिगत ८–१० वर्षदेखि भारतको पञ्जावमा बस्दथे । अहिले पनि उनका श्रीमती र छोराछोरी भारतमै छन् । २६ वर्षका मडै केही दिन अघिमात्रै नागरिकता बनाउन भन्दै घर आएका थिए ।
मडैले हालै धनगढीमा जग्गा खरिद गरेको स्थानीयबासी बताउछन् । उनी जग्गा आफ्नो नाममा दर्ता गर्नका लागि नागरिकता बनाउन गृह जिल्ला बैतडी पुगेका थिए । बुधबार उनले जिल्ला प्रशासन कार्यालयमा नागरिक बनाए । नागरिकता लिएर घर फर्केका मडैले आधा बाटोबाटै मदिरा पिउन सुरु गरिसकेका थिए ।
बाटोभरीका पसलेहरूलाई कोही छ मसँग लड्ने ? भन्दै सन्सेरीमाडौं पुगेका थिए । रक्सीकाे क्वाटरसमेत साथमै बोकेका मडैले मृतक कमलकै पसलबाट १ किलाे मासु खरिद गरी रावणको होटलमा पकाउन लगाए । उक्त मासु र मदिरा सेवन गरेका ४ जनाले अन्ततः कमलको हत्या गरेको स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ ।
यसरी भयो हत्या
प्रहरीका अनुसार हत्यामा संलग्न ब्यक्ति र मृतकले एकै टेवुलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गर्दागर्दै झगडा सुरु भयो । झगडाकै क्रममा मुख्य आरोपी मडैले कमलमाथि आफूले पहिल्यै बोकेर ल्याएको फलामको रड प्रहार गरे । अत्याधिक पिटाइबाट उनको मृत्यु भयो । केही समय अघि (राति सवा १० बजे) घरबाट फोन आउँदा मान्छे आउनुभाछ, म आउन अलि ढिलो हुन्छ, खाना छोपेर राखिदेउ भनेका कमल कहिल्यै घर जान नपाउने गरी ढले ।
कमलकाे मृत्युपछि शव खोलामा फाल्ने प्रयास भएको बुझिएकाे छ । तर हत्यामा संलग्न ब्यक्तिहरू मदिराले लठ्ठ परेका पनि शव उठाउन सकेनन् ।
पैसाका लागि हत्या भएको आशंका
मृतक कमल भोलिपल्ट जग्गा किन्ने तयारीमा थिए । उनीसँग ७ लाख रुपैयाँ थियो । पैसाका बिषयमा आरोपी होटल ब्यवसायी रावण जानकार थिए । यही कुरा अर्का आरोपी मडैले पनि थाहा पाएपछि पैसा लुट्ने योजनाले हत्या गरेको हुनसक्ने मृतकका परिवारजनको आशंका छ ।
मृतक परिवारको अवस्था भने दयनिय छ । कमलका जेठा छोरा विवाहित हुन् । तर उनको मानसिक सन्तुलन ठिक छैन् । जबकी बुवाको शव छेउमा थियो । सयौँ मान्छेको भीड लागेको थियो । तर उनी भने केटाकेटीसँग खेल्दै थिए । कमलका कान्छा छोरा रोजगारीका क्रममा साउदी अरबमा छन् ।

