चितवन । चितवनको माडी नगरपालिका ९ अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई विधिवत् रूपमा पूजाआजा गरी पठाइएको छ । बालुवाटारमा मूर्तिलाई पूजाआजा गरि चितवन पठाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन पठाउनु अघि पूजाआजा गरेका हुन्। तयार पारिएका मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको हो।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन्। अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ। प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउने गरेका छन्।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्याली सहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।
पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।