नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीले प्रदेश सरकारले कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्त रुपमा नवलपुरमा आयोजना गरेको आत्मदीपन नामक सामुहिक चित्रकला प्रदशनीमा वोल्दै पोख्रेलले यस्तो बताउनुभएको हो ।
कलाको धेरै विद्या मध्ये चित्रकला पनि एक भएको मुख्यमन्त्री नेपालीको भनाई थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पोख्ररेलले प्रदेश सरकारको संस्कृति मन्त्रालय मार्फत कला र संस्कृतिको संरक्षण र संवद्धन गर्ने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
कार्यक्रमा गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकाले कला साहित्य र चित्रकारलाई सधै सम्मान गर्ने बताउनुभयो । उहाँले प्रदशनीमा रहेका केही चित्र नगरपालिकाले खरिद गर्ने बताउनुभयो । गैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कंडेल सापकोटाले चित्रकारहरुले बनाएका चित्रहरुको वजार व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चित्रकलाप्रदर्शनीमा १८ जना कलाकारले बनाएको ५० भन्दा बढी चित्रहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका सम्पूर्ण चित्रहरु शान्तिका प्रतिक भगवान गौतम बुद्धसँग सम्वन्धित रहेका छन । चित्रकला प्रदर्शनी बुद्ध जयन्तीको अवसरमा गर्ने तयारी भए पनि कोरोना भाईरसको कारण केही ढिला भएको आयोजकले बताए ।कार्यक्रममा उपस्थित कलाकारहरुले काठमाडौ र पोखरा पछि नवलपुर चित्रकलाको क्षेत्रमा प्रख्यात रहेको बताएका थिए । आजबाट सुरु भएको चित्रकला प्रदशनी असोज २२ गतेसम्म चल्नेछ ।
कार्यक्रममा बाला आर्टका प्रमुख एवं नेपाल चितवन ललितकला प्रतिष्ठानका अध्यक्ष दामोदर बरालको विशेष सहयोग रहेको छ । यसैबीच गैडाकोट नगरपालिका वडा नं. ५ ले त्रिवेणी साहित्य प्रतिष्ठानलाई १७ धुर जग्गा उपलब्ध गराएको कार्यक्रका सभापति चित्रकार भिम प्रसाद शर्माले जानकारी दिनुभयो ।

