चितवन । आमा बुवा र सासु ससुराको स्याहार सुसार गरी उदाहरणीय बनेका रत्ननगर वडा नं २ का छोरी तथा बुहारीहरुलाई विहीबार सम्मान गरिएको छ । ११५औं अन्तररास्ट्रिय महिला दिवसको अबसरमा महिला उत्थान समिति रत्ननगरले ५० जना छोरी, बुहारी र नातिनी बुहारीलाई सम्मान गरेको हो ।
वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे र महिला उत्थान समिति रत्ननगरकी अध्यक्ष रन्जना श्रेष्ठले उनीहरुलाई सम्मानपत्रले सम्मान गरेका हुन् ।
एकैघरमा रही आमाबुवा तथा सासु ससुराको स्यारसुसार गरी समाजमा उदाहरणीय बनेका छोरी, बुहारी र नातिनी बुहारी समेतलाई सम्मान गरिएको बताए । सो अबसरमा वडाध्यक्ष घिमिरेले बुद्धाभएका बुवाआमा र सासु ससुराको सेवा गरे धर्म गर्न मठमन्दिर धाउनु नपर्ने बताए । घरका बुवाआमा र सासुससुरा भगवान हुन उनले भने भगवानरुपी अभिभावकको राम्रो सेवा गरे धर्मगर्न कतै जानुपर्दैन ।
कार्यक्रममा कार्यपालिका जिल्ला समन्वय समितिका सदस्य तथा वडा सदस्य संजिब पौडेल, कार्यपालिका सदस्य राजेन्द्र हमाल, महिला अधिकारकर्मी निता ढकाल, सीतादेवी शर्मा लगायतले मन्तव्य राखेका थिए । महिला उत्थान समिति रत्ननगरकी अध्यक्ष रन्जना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव निर्मला मरहठ्ठाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष कृष्णकुमारी खरेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

