काठमाडौँ। बुधबार अमेरिकाले डिपोर्ट गरेका ९ नेपाली अवैध बाटोबाट त्यहाँ पुगेको खुलेको छ। ५ देखि ९ महिना पहिले अमेरिका पुगे पनि उनीहरू गएदेखि नै थुनामा परेको र एकैचोटी डिपोर्ट गरिएको बताएका छन्।
तर उनीहरूले आफूलाई त्यसरी कसले पठायो र कति रकम बुझाएर गएका थिए भन्ने बारेमा भने खुलाएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि अध्यागमन विभागले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरूलाई मानव वेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो। ब्युरोले उनीहरूलाई कसरी त्यहाँ पुगे, त्यहाँ पुगेपछि के के भयो र कसरी नेपाल फर्किए भन्ने विषयमा सोधीखोजि गरेको छ।
तर उनीहरूले आफूलाई त्यहाँ पठाउने व्यक्तिप्रति कुनै गुनासो नरहेको र उजुरी पनि नगर्ने बताएका छन्। ‘उहाँहरू ठगिनु भएको छ कि, पीडित हुनु भएको छ कि भनेर सोधखोज गर्यौँ तर कसैप्रति कुनै गुनासो नरहेको बताउनु भएको छ। अहिले परिवारलाई जिम्मा लगाउने प्रक्रिया हुँदैछ’, ब्युरोका एक अधिकारीले भने।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले शपथ लिएपछि (जनवरी २० पछि) ३० जना पुरुष र ५ जना महिलालाई नेपाल डिपोर्ट गरिएको छ।
बुधबार ८ जनालाई भने चार्टर्ड फ्लाइटमा हतकडी लगाएर पठाइएको थियो। थप एक जना भने नियमित फ्लाइटमा फर्किएका छन्। आफैँ स्वदेश फर्किन तयार भएकालाई नियमित फ्लाइटमा पठाइएको हो भने फर्किन नमान्नेलाई हतकडी लगाएर चार्टर्ड विमानमा ल्याइदिएको हो।
फर्किनेमा डोटीका १, दाङका ३, रुकुमपूर्व २, रुकुम पश्चिमका २ र रोल्पाका एक जना छन्। कोही ५ महिना पहिले अमेरिका पुगेको र बढीमा ९ महिना पहिलेसम्म अमेरिका पुगेकाहरू फर्किएको पाइएको मानव वेचबिखन अनुसन्धान ब्युरोका एक अधिकारीले बताए। उनीहरू फरक फरक रुटबाट अमेरिका प्रवेश गरेको पाइएको छ।
घरफिर्ति केन्द्रमा हुँदै उनीहरूलाई नेपाल फर्काउन खोजिएको थियो। तर उनीहरूले फर्किन नमानेपछि हतकडी लगाएर पठाइदिएको हो।

