चितवन । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा गण्डकी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघमा भ्रमण जान लागेको टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
गण्डकी प्रदेशमा रहेका उद्योग वाणिज्य संघहरूले गरेका क्रियाकलाप, देशको आर्थिक अवस्था सहजीकरणका लागि अवश्यक सल्लाह, विचार तथा सीपको आदानप्रदान गर्ने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।
भ्रमणको बिदाइ कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न जिल्लाहरुमा चितवनका पर्यटकीय गन्तव्यहरुको बारेमा पहिचान गराउनुका साथै देशको आर्थिक समृद्धिमा निजी क्षेत्रका धारणाहरु संकलन एवम् आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट निर्माण तथा राजस्व नीति तर्जुमा गर्ने सम्बन्धमा आवश्यक रायसुझाव संकलनका साथै राजस्व नीतिमा गर्नुपर्ने सुधारका बारेमा छलफल गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको बताए ।
दुईदिने उक्त भ्रमणमा गण्डकी प्रदेशका तनहुँ, कास्की, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाकोे जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँग अन्तक्र्रिया तथा अनुभव आदानप्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए ।
भ्रमण टोलीलाई सोमबार उद्योग वाणिज्य संघ–चितवनको परिसरमा एक कार्यक्रमबीच बिदाइ गरिएको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा गएको भ्रमण टोलीमा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत कार्यसमिति सदस्यहरु गरी १७ जनाको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराएका थिए ।
सो भ्रमण टोलीलाई उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले बिदाइ गरेका गरेका थिए ।

