लमजुङ । लमजुङमा १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । राइनास नगरपालिका भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए ।
शिक्षक थापालाई भने १४ भदौमा प्रहरीले पक्राउ गरेको हो । बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा ३ लाख तिरेर धरौटीमा रिहा भइसकेका छन् ।

