चितवन। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का नेता एवं रामपुर कृषि क्याम्पस स्ववियु सभापति चेतराज जोशीले अखिल (क्रान्तिकारी)को २३औं सम्मेलनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
२३औं सम्मेलनको निर्वाचन प्रक्रिया माघ ८ गतेदेखि अनलाइन माध्यमबाट सुरु भैसकेको छ । रामपुर कृषि क्याम्पसमा स्ववियु सभापति जोशीले क्यापसमा विद्यार्थीको सिकाइ र आर्थिक पाटो सबल बनाउन “पढ्दै कमाउँदै“ अभियान सञ्चालन गरेका छन् । सो अभियानमार्फत विद्यार्थीहरुले सयपत्रीखेती, गोलभेडा खेती लगायतका कृषि उत्पादन गर्दै आएका छन् ।
सो अभियानकार्फत लाखौं रुपैयाँ आर्जन समेत गरेका छन् । जोशीको नेतृत्वमा भएको यो प्रयासले देशभर प्रशंसा बटुल्दै आएको छ । सो अभियानको सफलता पछि अहिले जोशीले अखिल क्रान्तिकारीको २३औं सम्मेलन मार्फत पुनः केन्द्रिय सचिवमा उम्मेदवारी दिएका छन् । जोशीले विद्यार्थीको मर्मलाई आत्मसात गर्दै विश्वविद्यालय सुधार र उत्पादनमुखी प्रणालीमार्फत शिक्षामा स्थायी परिर्वतन ल्याउन आफ्नो उम्मेदवारी भएको बताउँछन् ।
सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै, जोशीले आफ्नो उम्मदेवारी नयाँ सोच र परिवर्तनको अठोट भएको धारणा राखेका छन् । संगठन, शिक्षा र विश्वविद्यालयको सुधारमा अब पुरानो सोचको अन्त्य गर्दै, प्रगतिशील नेतृत्व र नयाँ विचारका साथ अघि बढ्न आवश्यक भएको जोशीको तर्क छ । शिक्षा सुधार, सर्वहारा वर्गको अधिकार र संगठनलाई गतिशील बनाउँदै शिक्षामा क्रान्ति गर्न सकिने जोशीको ठम्याइ छ ।

