चितवन । रत्ननगर नगरपालिका -९ नम्बर वडा कार्यालयले वडामा रहेका ३ सय ५० ज्येष्ठ नागरिकहरुलाई पोषण तथा आयुर्वेदिक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वडा कार्यालय परिषरमा आज एक औपचारिक कार्यक्रम गर्दै सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । ज्येष्ठ नागरिकहरुका लागी आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समन्वयमा च्यवनप्रास, आरोग्य अश्वगन्धा चुर्ण, हाडजोर्नी दुखाईमा लगाउने अडेर बाट बनेको बातरी तेल वितरण गरिएको थियो ।
ज्येष्ठ नागरिक रत्ननगर अध्यक्ष छबिलाल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवनका सुचना अधिकारी डा. देवेन्द्र कुमार यादवले औषधिको प्रयोग विधिको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा वडा सदस्य कमानसिङ चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु, वडाका कर्मचारीहरु, ज्येष्ठ नागरिकहरु, समाजका अगुवा व्यक्तित्वहरु,वडा स्तरिय ज्येष्ठ नागरिक समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएको वडा अध्यक्ष अनन्त अधिकारीले वडामा रहनुभएका ज्येष्ठ नागरिकहरु प्रेरणाको श्रोत समेत रहनुभएको भन्दै वडा कार्यालय ज्येष्ठ नागरिक प्रति वडा सधै उत्तरदायी रहेको बताउनु भयो । कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले संचालन गर्नुभएको थियो ।