विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेले मात्रै चाहेर संविधान संशोधन नहुने बताएका छन् ।
बुधबार बिहान विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले संविधान कांग्रेस-एमालेको मात्रै नहुने भएकाले सबै दललाई सहमतिमा ल्याएर मात्रै संशोधन गर्न सकिने बताएका हुन् ।
‘संविधान कांग्रेस-एमालेको मात्रै हुँदैन । त्यसैले सबै दलहरूलाई मिलाएर सहमतिमा ल्याएर मात्रै संशोधन गर्नुपर्छ,’ उनले भने । कोइरालाले संविधान संशोधनको मुद्दामा कांग्रेस-एमालेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, मधेशवादी दलहरू, राप्रपा, रास्वपालगायतलाई सहमतिमा ल्याउन ल्याउनुपर्ने बताए ।
नेता कोइरालाले दुईतिहाइ बहुमत पुर्याएर संविधान संशोधन गर्छौं भन्नु गलत भएको बताए । ‘संविधान सबैलाई मान्य हुनुपर्छ । तर, दुईतिहाइ बहुमत पुर्याएर संशोधन गरिदिन्छौँ भन्नु गलत हो,’ उनले भने ।